काठमाडौं,७ असार । नेपाल आइसिसी विश्वकप छनोटमा दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजसँग फराकिलो अन्तरले पराजित भएको छ । जितको लागि ३ सय ४० रनको विशाल विजयी लक्ष्य पछ्याएको नेपाल ४९.४ ओभर खेल्दै २ सय ३८ रनमा अल आउट भएको हो ।
नेपालका लागि आरिफ शेखले ९३ बलमा ४ चौका र १ छक्कासहित सर्वाधिक ६३ रन बनाए । यस्तै गुलशन झा ५८ बलमा ५ चौका र १ छक्कासहित ४२ रनमा आउट भए । नेपालका करण केसीले २७ बलमा ४ चौका र १ छक्कासहित २८ रन बनाए । नेपालका ब्याटर वेस्ट इन्डिजको बाउन्सर सामु धेरै समय क्रिजमा टिक्न सकेनन् ।वेस्ट इन्डिजका जेसन होल्डरले १० ओभरमा ३४ रन खर्चेर ३ विकेट लिए ।
अकिल हुसैन,अल्जारी जोशेफ र किमो पलले सम्मान २ विकेट लिए ।
यसअघि हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै ३ सय ३९ रन बनाएको थियो। वेस्ट इन्डिजको जितमा कप्तान शाई होपले १ सय २९ बलमा १० चौका र ३ छक्कासहित १ सय ३२ रनको कप्तानी इनिङ खेले।
त्यस्तै निकोलस पुरन १५,ब्रेन्डन किंग ३२, रोभम्यान पावेल २९,जेसन होल्डर १६,ओपनर कायल मेयर्सलाई र किमो पल १
रन बनाएका थिए । जोनसन चाल्र्स डक आउट भएका थिए ।
नेपालका स्पिनर ललित नारायण राजवंशीले सर्वाधिक ३ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने.दीपेन्द्रसिंह ऐरी, करण केसी, गुलशन झाले सम्मान १ विकेट लिए ।
नेपाल पहिलो खेलमा जिम्बावेसँग ८ विकेटले पराजित भएको थियो । अमेरिकालाई ६ विकेटले हराएको थियो । अमेरिका समूह ए बाट लगातार तीन हारको साथ बाहिरिएको छ । नेपाल सुपर सिक्समा पुग्न शनिबार नेदरल्यान्ड्सलाई हराउनु पर्ने हुन्छ । नेपालले हराए मात्रै हुँदैन नेदरल्यान्ड्सले अन्तिम खेलमा वेस्ट इन्डिजसँग पनि हार्नुपर्ने हुन्छ। नेपाल नेदरल्यान्ड्ससँग पराजित भएमा समूह चरणबाटै बाहिरिनेछ।
Discussion about this post