काठमाडौँ,४ असार । शनिबार रातिको बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा पाँच जनाको ज्यान गएको छ भने २८ जना बेपत्ता छन्। दर्जनौं घर क्षतिग्रस्त भएका छन् भने सडक, पुललगायतका संरचना बग्दा यातायात सम्पर्क प्रभावित भएको छ। निर्माणाधीन र निर्माण सकिएका १६ जलविद्युत् आयोजनामा क्षति पुगेको छ।
बाढीपहिरोमा परी पाँचथरमा दुई तथा संखुवासभा र ताप्लेजुङमा एक–एक जनाको मृत्यु भएको छ। यस्तै, धनकुटाको छथर जोरपाटी–४ तेलियास्थित तमोर नदी किनारमा आइतबार साँझ एक महिलाको शव फेला परेको छ। उनसको सनाखत हुन सकेको छैन। संखुवासभामा २१, पाँचथरमा ४ र ताप्लेजुङमा ३ जना बेपत्ता छन्।
संखुवासभामा हेवा खोलाको बाढीले पाँचखपन नगरपालिका–९ का सन्तोष राईको ज्यान लिएको छ। चैनपुर नगरपालिका–४ मा निर्माणाधीन ६ मेगावाटको सुपर हेवा हाइड्रोपावरका १८ जना सम्पर्कविहीन छन्। उक्त हाइड्रोपावरको संरचना पूर्ण रूपमा क्षतिग्रस्त छ। हाइड्रोपावरमा कार्यरत राजेश श्रेष्ठ, टीकाराम थारू र दीपकराज थारू घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
चैनपुर–४ र पाँचखपन–९ मा गएको पहिरोले खोला थुनिएपछि बाढीले जनधनको क्षति गरेको हो। बाढीले पाँचखपन र चैनपुर जोड्ने मोटरेबल पुल पनि बगाएको छ। खोला किनार आसपासका ८ घर बगेका छन्। सभापोखरीमा २ र नुनढाकीमा १ जना बेपत्ता छन्।
ताप्लेजुङमा पहिरोमा परेका ६३ वर्षीया भगीमाया, ३३ वर्षीया सन्ध्या र ९ वर्षीय प्रज्वल बुढाक्षत्री भेटिएका छैनन्। बाढीपहिरोले जिल्लाभर ५१ घर जोखिममा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्लाभरमा तीन पक्की पुल र पाँच झोलुंगे पुलमा क्षति पुगेको छ। सात सरकारी कार्यालय र एक विद्यालयमा क्षति पुगेको छ। पहिरोले सिदिङवा–६ स्थित स्वास्थ्य चौकी बगाएको छ।
Discussion about this post