चितवन,२ असार । भरतपुर महानगरपालिका–२४ मा सोलारबाट लिफ्ट सिँचाइ गरिने भएको छ । जिल्लामा पहिलो पटक सोलार ऊर्जाका माध्यमबाट लिफ्ट सिँचाइको काम गर्न लागिएको हो ।
ध्रुवनगर बुच्के केरुङ घोल लिफ्ट सिँचाइ आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको उपभोक्ता समितिका अध्यक्ष विपिन सिग्देलले जानकारी दिनुभयो । सञ्चालनका लागि परीक्षणको काम सुरु गर्न र सामान्य काम बाँकी रहेको उहाँले बताउनुभयो ।
नेपाल सरकारको समृद्ध तराई मधेश सिँचाइ विशेष कार्यक्रमअन्तर्गत यो आयोजना सञ्चालनमा ल्याइएको हो । कार्यक्रमका प्रमुख सिनियर डिभिजनल इन्जिनियर जीतबहादुर थापाका अनुसार विसं २०७८ साल असारमा निर्माण कार्य सम्झौता भई २०७९ साल असार मसान्तसम्म सम्पन्न हुनुपर्नेमा एक वर्ष समय थप गरी यही असार मसान्तसम्म निर्माणको काम सम्पन्न गर्न लागिएको हो ।
आठ करोड १५ लाखको लागतमा निर्माण सुरु गरिएको आयोजनाको काम काठमाडौँ जोशी जेभि काठमाडौँले ठेक्का साकार गरेको हो । यस आयोजनामा घोलको पानीलाई पाँच वटा इनारमा जम्मा गरेर दुईवटा ओभर हेड ट्याङ्कीमा लगिने छ । तीन सय बिगाहा क्षेत्रफल सिँचाइ हुने गरी निर्माण गरिएको आयोजनाले दैनिक सात सय ५० घनमिटर पानी वितरण गर्न सक्ने छ ।
तीन वटा इनारबाट एउटा ट्याङ्कीमा र दुई वटा इनारबाट एउटा ट्याङ्कीमा पानी तानेर उपभोक्तालाई वितरण गरिने गरी आयोजना निर्माण गरिएको हो । पानी तान्नका लागि २६ किलोवाटका चार वटा मोटर र २२ किलोवाटको एउटा मोटर जडान गरिएको छ । यी मोटर सञ्चालनका लागि २६ वाटका पाँच सय १० वटा सोलार जडान गरिएको छ ।
Discussion about this post