चितवन,१ असार । नेपाल विद्युत प्राधिकरणले भारतलाई विजुली बेच्दै गर्दा भरतपुरबासी भने अघोषित लोडसेडिङको मारमा छन् । भरतपुरमा दिनमै दर्जनौँ पटक विद्युत अवरुद्ध हुने गरेको छ । गर्मीमा पटक–पटक लाइन काटिँदा खानेपानी आपूर्ती समेत प्रभावित भएको छ । चितवन जस्तो उच्च तापक्रम हुने जिल्लामा विद्युत प्राधिकरण गैरजिम्मेवार देखिएको छ ।
पटक–पटक लाइन काटिएपछि भरतपुरबासी आक्रोशित पनि भएका छन् । विद्युत प्राधिकरणको फेसबुक पेजमा गएर लाइन काटिएकोप्रति विद्युतका उपभोक्ताले गुनासो गर्ने क्रम बढेको छ । विद्युत विकासको लागि आएको बजेटमा भ्रष्टाचार नगरी गतिलो सामान हाल्न उपभोक्ताले सुझाव दिएका छन् ।
विद्युतका कर्मचारीहरु पटक पटक ‘सिस्टम फेल’ भन्दै पन्छिएपछि उपभोक्ताले यस्तो सुझाव दिएका हुन् । उच्च गर्मीको कारण विद्युत डिमान्ड बढ्न गई दैनिक रूपमा १३२ केभी राष्ट्रिय प्रसारण लाइन ट्रिपिङ भइरहेको विद्युतका कर्मचारी बताउँछन् ।
‘नेपालको राष्ट्रिय प्रसारण प्रणालीलाई मजबुत बनाउन पूर्व–पश्चिम ४०० केभीको प्रसारण लाइन र ४–५ स्थानमा उत्तर–दक्षिण २२० केभीको प्रसारण लाइन निर्माण सम्पन्न भई सुचारु हुन पर्ने देखिन्छ’, विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले भनेको छ ।
Discussion about this post