चितवन,२४ जेठ । समग्र देशको जनसंख्यामा महिलाको संख्या बढी देखिएपनि विगत १९ वर्षदेखि चितवनमा छोरी (महिला) को बृद्धिदर निरन्तर ओरालो लागेको छ । राष्ट्रिय जनगणना २०७८ को नतिजाले पछिल्लो १९ वर्षदेखि चितवनमा छोराको तुलनामा छोरीको बृद्धिदर ओरालो लागेको देखाएको हो ।
गणना अनुसार चितवनको कूल जनसंख्या ७ लाख १९ हजार ८५९ छ । यसमध्ये महिला ५१.१ प्रतिशत र पुरुष ४८.९ प्रतिशत रहेको छ । लैङ्गिक अनुपात अनुसार ९५.५८ पुरुष प्रति एक सय महिलामा पर्दछन् ।
तर पछिल्लो १९ वर्षको तथ्यांक हेर्ने हो भने छोरीको बृद्धिदर निरन्तर घट्दो क्रममा रहेको छ । जनगणनाको तथ्यांक अनुसार जन्मेदेखि ४ वर्षसम्मको जनसंख्या बृद्धिदरमा पुरुष ४.४ प्रतिशत हुँदा महिला ३.९ प्रतिशत रहेको छ ।
यसैगरी ५ देखि ९ वर्ष उमेर समूहको पुरुष ४.९ प्रतिशत हुँदा महिला ४.५ प्रतिशत छ । यस्तै १० देखि १४ वर्ष उमेर समूहमा पुरुष ५.१ प्रतिशत हुँदा महिला ४.८ प्रतिशत छ । यसैगरी १५ देखि १९ वर्ष उमेर समूहमा पुरुषको ५.१ प्रतिशत हुँदा महिलाको ५ प्रतिशत बृद्धि दर मात्रै छ ।
२० वर्षमाथिको उमेर समूहमा भने महिलाको बृद्धिदर बढि रहेको छ । २० देखि २४ वर्ष उमेर समूहमा पुरुषको ४.५ हुँदा महिलाको ५.१ प्रतिशत छ । यस्तै २५ देखि २९ वर्ष उमेर समूहमा पुरुषको ३.८ प्रतिशत हुँदा महिलाको ४.६ प्रतिशत छ । ३० देखि ३४ वर्ष उमेर समूहमा पुरुषको ३.४ प्रतिशत हुँदा महिलाको ४ प्रतिशत रहेको छ । यसभन्दा माथिको उमेर समूहमा पनि महिलाको बृद्धि प्रतिशत बढि देखिन्छ ।
समग्र देशको १९ वर्षमुनिको बृद्धिदरमा पनि महिला प्रतिशत कम छ । देशभरको ४ वर्षसम्मको उमेर समूहमा पुरुषको ४.४ प्रतिशत हुँदा महिलाको ३.९ प्रतिशत मात्रै छ । ५ देखि ९ वर्षसम्मको उमेर समूहमा पुरुषको ४.९ प्रतिशत हुँदा महिलाको ४.५ प्रतिशत मात्रै छ । यसैगरी १० देखि १४ वर्ष उमेर समूहमा पुरुष ५.१ प्रतिशत हुँदा महिला ४.८ प्रतिशत छ । १५ देखि १९ वर्ष उमेर समूहमा पुरुष ५.१ प्रतिशत हुँदा महिला ५ प्रतिशत छ ।
छोरीको बृद्धिदर कम हुनुलाई कतिपयले लिङ्ग पहिचान गरी गर्भपतन गराउनुलाई कारण मानेका छन् । तर भरतपुर अस्पतालका बरिष्ठ प्रसुती तथा स्त्रीरोग विशेषज्ञ प्रा.डा.सुनिलमणि पोखरेल लिङ्ग पहिचान गरी गर्भपतन गराउनु गैरकानुनी काम भएकाले यस्तो कार्य गर्न कठिन हुने बताउनुहुन्छ । पछिल्लो समय छोरीले पनि बाबुआमाको हेरचाहा गर्छन् भन्ने भावनाको विकास भएको भन्दै छोरी मात्रै जन्माएका धेरै परिवार रहेको बताउनुभयो । उहाँले थप्नुभयो “थोरै मात्रै लिङ्ग पहिचान भएको हुन सक्छ, बृद्धिदरमै प्रभाव पार्ने गरी लिङ्ग पहिचान गरी गर्भपतन गराएको छ जस्तो मलाई लाग्दैन ।”
धेरै चिकित्सकले लिङ्गकको पहिचान दिन नमान्ने भन्दै उहाँले भन्नुभयो “चिकित्सकले लिङ्ग पहिचान गरेर बताउनु ईज्जतिलो काम होइन ।” विज्ञानले स्वीकार नगरे पनि चिनिया क्यालेण्डर हेरेर गर्भ राख्ने प्रचलन बढेको उहाँको भनाई छ । विदेशमा बसाईसराई लगायतका कारण पनि तथ्यांकमा फरक आएको हुन सक्ने प्रा.डा.पोखरेलको भनाई छ ।#kantipurHelth
Discussion about this post