विनोद अधिकारी चितवन,२३ जेठ । लामो समय देखि खडेरी परेर मकै मर्न थालेपछि चितवनका कृषक चिन्तित बन्न थालेका छन् । मकै फल्ने बेला हुनै लाग्दा खडेरी सुरु भएर मकै सुक्न थालेपछि कृषक चिन्तित बन्न थालेका हुन् ।
भरतपुर १८ चनौलीका कृषक सरस्वती क्षेत्रीले हुर्कदै गरेको मकैको बोट घोगा लाग्ने बेलामा ओइलाएर सुक्न थालेपछि आफुहरु चिन्तित भएको बताउनुभयो । आठ कठ्ठामा मकै खेती गरेको क्षेत्री बताउनुहुन्छ । उहाँले भन्नुभयो,”आफ्नोमा बोरिङ छैन छिमेकीको बाट लगाउनुपर्छ त्यो पनि सबै तिर पालो लगाउदा मकैले आवश्यक पानी पाउदैन आकाशको भरपर्दा पानी पर्दैन चैत देखि पानी नपर्दा मकै सबै सुकिसक्यो अब भैसीलाइ दिनुबाहेकको अरु विकल्प छैन ।”
चैतदेखी पानी नपरेर मकै सुक्दै गएको भन्दै भरतपुर २६ ज्योतिनगरकि कृषक माया मगरले गुनासो गर्नुभयो । दुख गरेर लगाएको मकै हात नपर्ने हो कि भन्दै सधै चिन्ता लिने गरेको मगरले बताउनुभयो । “यतिका महिना बित्यो पानी पर्दैन बादल देखिदा आश लाग्छ आकाश तिर हेर्यो पानी पर्दैन बारीमा लगाएको मकै सुकेर मरिसक्यो, उत्पादन होला जस्तो छैन” मगरले चितवन आवाज सँग आफ्नो दुखेसो सुनाउनु भयो ।
जिल्लामा ६ हजार ७३४ हेक्टर भन्दा बढी क्षेत्रफलमा मकै खेती गरेको कृषि ज्ञान केन्द्र चितवनले आँकलन गरेको छ । “कृषकले मकै लगाएपछि लामो समय खडेरी पर्यो, मकैलाइ आवश्यक पानी परिपुर्ति गर्न सबै ठाउँमा सिंचाइको सुविधा छैन र आकाशे पानीको भर पर्दा मकैले पानी पाउन सकेन । यसले गर्दा जिल्लामा मकै उत्पादनमा धेरै गिरावट हुने र कृषकलाइ मर्का पर्ने कृषि ज्ञान केन्द्र चितवनका सूचना अधिकारी मीन बहादुर पुनले बताउनुभयो ।
महानगरको वडा नम्बर १५, १६, १७, २२, २४ लगाएतका स्थानहरुमा खरेडीले मकैबाली सुक्न थालेको बताउनु भयो । उहाँले सिंचाइ र बोरिङ्ग भएको स्थानका भने मकैबाली राम्रै रहेको जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिका, माडी नगरपालिका, रत्ननगर र इच्छाकामना गाउँपालिकाका क्षेत्रमा धेरै मात्रामा किसानले मकै लगाउँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांक ले देखाउन्छ । खडेरीले मकै ओइलाउने, मर्ने पात सुक्ने जस्ता समस्या जिल्लामा देखा परेको छ ।
Discussion about this post