चितवन,२१ जेठ । चितवनको भरतपुर १० स्थित मालिका चोकमा रहेको मालिका फ्रेस हाउसबाट ५ बोरा सडेको मासु बरामद गरी नष्ट गरिएको छ ।
सडेको मासु मासु भेटिएपछि भरतपुर–१० का वडाध्यक्ष परमेश्वर खनालको निर्देशनमा मालिका फ्रेस हाउस बन्द गराइएको छ ।उपभोक्ताको स्वास्थ्यमा गम्भीर लापरबाही हुने किसिमले गलेको मासु बिक्रि वितरण गर्दै आइरहेको भन्दै भरतपुर महानगरपालिकाको अनुगमन टोलीले पाँच बोरा मासु खाल्डो खनेर नष्ट गरेको हो ।
आगामी दिनमा जनस्वास्थ्यमा ख्याल गरेर पसल सञ्चालन गर्न उक्त फ्रेस हाउसका सञ्चालक दिनेश तिमिल्सिनालाई महानगरले चेतावनी दिएको छ । तिमिल्सिनाले खान मिल्ने नमिल्ने मासु एकैठाउमा राखेको स्वीकार गरेका छन् । भरतपुर महानगरपालिकाका पशु चिकित्सक डा दिपेश केसीले मानव स्वास्थ्यमा गम्भीर लापरबाही गरेको बताए ।
भरतपुर महानगरपालिकाले निरन्तर रुपमा भरतपुरका विभिन्न पसलहरुको अनुगमन गरिरहेको छ । स्वास्थ्य मापदण्ड पालना नगर्ने पसलहरुलाई धमाधम कारवाही समेत गरिएको छ ।
Discussion about this post