हेटौंडा,१८ जेठ । मकवानपुरमा एक महिलाले आफूसहित दुई छोरालाई विष खुवाएकी छिन् । विष खाएका १८ महिने छोराको उपचारका क्रममा बिहान ज्यान गएको छ भने महिला र उनका अर्का सात वर्षका छोराको भरतपुर अस्पताल चितवनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिनुभयो ।
हेटौंडाकी ३६ वर्षीया सोनी पाख्रिनले ७ वर्षीय छोरा अस्किन वाईवा र १८ महिने छोरा जेनिस वाईवासहित प्यारा क्वाईट डाइक्लोराईड नामक झार मार्ने विषादी सेवन गरेर आत्महत्याको प्रयास गरेकी हुन् ।
विषादी सेवनपछि गम्भीर बिरामी भएका उनीहरुलाई उपचारको लागि हेटौंडा अस्पतालबाट गएराति नै पुरानो मेडिकल कलेज भरतपुर ल्याइएको थियो । तर, आज बिहान १८ महिने नाबालक छोरा जेनिसको उपचारको क्रममा मेडिकल कलेज मृत्यु भएको छ ।
त्यस्तै अहिले सोनी र उनका ७ वर्षीय छोरा अस्किनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । प्रहरीका अनुसार सोनीको अवस्था गम्भीर रहेको छ ।
Discussion about this post