काठमाडौं,१८ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदैछ ।
बुधबार दिउँसो दिल्ली अवतरण भएका प्रधानमन्त्री प्रचण्डले सोही दिनदेखि भेटवार्ता सुरु गरेका थिए । सोही क्रममा आज प्रधानमन्त्री प्रचण्डले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् ।
आज बिहान ११ बजे हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र मोदीबीच भेटवार्ता हुने भएको हो । त्यसअघि प्रचण्डले आज राजघाटस्थिल महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्पहार अर्पण गर्ने कार्यक्रम रहेको छ ।
सो भेटलगत्तै प्रधानमन्त्रीले प्रतिनिधिमण्डल स्तरमा भेटवार्ता हुनेछ। सो भेटवार्ता र छलफल पछि दुई देशका बिचमा सम्झौतापत्रमा हस्ताक्षर तथा केही संयुक्त परियोजनाको उद्घाटन र पत्रकार सम्मेलन आयोजना हुनेछ। सो पत्रकार सम्मेलनमा दुवै देशका प्रधानन्त्रीले संयुक्त रुपमा सम्बोधन गर्ने कार्यसूची तय भएको छ।
यस्तै आज अपराह्न ४ बजे प्रचण्डले भारतका उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । साढे ४ बजे प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् । साँझ साढे ५ बजे नेपाल, भारत दुवै देशका उद्योगी, व्यवसायीलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
यसअघि हिजो प्रधानमन्त्री प्रचण्डसँग भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले भेट गरेका छन् । डोभलसँगको भेटघाटपछि प्रधानमन्त्री नेपाली राजदूतावासले आयोजना गरेको रात्रिभोजमा सरिक भएका थिए । रात्रिभोजका क्रममा प्रधानमन्त्री प्रचण्डले प्रवासी नेपालीलाई सम्बोधन गरेका थिए ।
Discussion about this post