चितवन,१७ जेठ । चितवनको भरतपुर निवासी स्थापित पोल्ट्री व्यवसायी एवम् नेपाली कांग्रेसका स्थानीय नेता शंकरप्रसाद कँडेलको आत्महत्या दुरूत्साहनसम्बन्धी मुद्दामा बुधबार (आज) चितवन जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ । मुद्दामा पक्ष र विपक्षका अधिवक्ताहरुले थुनछेक बहस गर्दैछन् ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले मंगलबार अदालतमा मुद्दा पेश गरेको थियो । सोहीअनुसार आज थुनछेक बहस हुन लागेको हो । यता जिल्ला अदालतबाहिर व्यवसायी कँडेललाई न्यायको लागि भन्दै उनका परिवार, आफन्त एवं शुभचिन्तकले नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।
आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका जीवन रावल र फरार रहेका मृतक कंडेलका व्यवसायिक पार्टनर अनिल रुङ्गटाविरुद्ध पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवाना मागदाबी गरी मुद्दा दर्ता भएको छ । झुण्डिएर आत्महत्या गर्नुअघि मृतक कँडेलले कँडेलले लेखेको आठपन्ने ‘सुसाइड नोट’मा आफूले मृत्यु रोज्नुपर्ने वाध्यात्मक परिपस्थितिको सिर्जना रुङ्गटाले नै गरेको र उक्त कार्यमा रुङ्गटालाई जीवन रावलले साथ दिए उल्लेख थियो । त्यसैको आधारमा मृतक कँडेलका भाइले दुई जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका थिए ।
अदालतमा थुनछेक बहस चल्ने भएपछि कंडेलका शुभचिन्तकले फरार अभियुक्त प्रदीप रुङ्गटालाई पक्राउ गर्न, पक्राउ परेका रावललाई मागदाबी बमोजिमको कारबाही गर्न र कँडेललाई न्याय दिन माग गर्र्दै प्रदर्शन गरिएको हो । सोही मुद्दाका पक्राउ परेका अभियुक्त रावललाई प्रहरीले अदालत उपस्थित गराएको छ ।आत्महत्या दुरूत्साहनअन्तर्गत जाहेरी लिई प्रहरीले मुद्दाको सम्बन्धमा अनुसन्धान गरेको थियो । मुलुकी अपराधसंहिता–२०७४ को दफा १८५ बमोजिम अभियोग लगाइएको छ । यस दफाको उपदफा–२ मा सजायको व्यवस्था छ ।
आत्महत्या दुरूत्साहन कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरिवाना हुने व्यवस्था उक्त दफामा उल्लेख छ । साथै दफा १८६ बमोजिम क्षतिपूर्ति भराउनका लागि समेत मागदाबी गरिएको छ । यस दफामा उल्लेख भएअनुसार कसुरबाट कसैको जीउ ज्यान वा सम्पत्तिमा हानिनोक्सानी वा क्षति भएमा कसुरदारबाट पीडित व्यक्ति र व्यक्ति जीवित नभए हकवालालाई मनासिव क्षतिपूर्ति भराई दिनुपर्ने व्यवस्था रहेको जाहेरवालातर्फबाट बहस गर्ने वकिलले जानकारी दिए ।
व्यवसायी कँडेलले न्याय पाउनुपर्ने भन्दै चितवनमा केही दिन आन्दोलनसमेत भएको थियो । एकदिन चितवन बन्दको आयोजना समेत भएको थियो । कँडेलको वैशाख २४ गते देवघाटमा अन्त्येष्टि गरिएको थियो । जाहेरवाला तर्फको सरकारी वकिलसहित १० जना अधिवक्ताले मृतकको परिवारको पक्षबाट मुद्दामा बहस गर्दैछन् ।
Discussion about this post