काठमाडौं,१५ जेठ । आज १६औँ गणतन्त्र दिवस । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन अर्थात् आज गणतन्त्र दिवस ।
गत जेठ ५ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको ‘गणतन्त्र दिवस २०८० मूल समारोह समिति’को बैठकले यसवर्षको गणत्रन्त्र दिवस भव्यताका साथ मनाउने निर्णय गरेको थियो । सरकारले आज सो दिवसका अवसरमा देशभर सार्वजनिक विदासमेत दिएको छ ।
जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो ।
हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।
विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए ।
गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो ।
यसैबिच राष्ट्रपति रामचन्द्र पौडेलले १६औं गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक बधाईसहित सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले दिएको शुभकामना सन्देशमा लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो अमूल्य जीवन बलिदान गर्ने अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेका छन् ।सन्देशमा भनिएको छ, ‘नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झना चिरस्थायी बनाउन हामीले प्रत्येक वर्ष जेठ १५ गतेलाई गणतन्त्र दिवसका रूपमा मनाउँदै आएका छौं । कुनै एक वंश विशेषमा ज्येष्ठताको आधारमा श्रेष्ठता तय गरिने प्रणालीलाई नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो बहुलवादमा आधारित लोकतान्त्रिक गणतन्त्रको प्रमुख विशेषता हो ।’
Discussion about this post