काठमाडौं,११ जेठ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८, दुलीमा आज बिहान जिप दुर्घटना हुदाँ चार जनाको मृत्यु भएको छ ।
बिहान ८ बजेतिर यात्रुवाहक जिप दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना घाइते भएका छन् ।
बाँफिकोट–८ वडा अध्यक्ष धनबहादुर खत्रीकाअनुसार मृत्यु हुनेमा सानीभेरी गाउँपालिका – ५ का कर्णे बाठा र देउचन खत्री रहेका छन् । एकजना सुत्केरी महिला र बच्चाको पहिचान हुन सकेको छैन ।
१४ जना सवार जिप दुर्घटनामा घाइतेमध्ये ४ जनाको अवस्था चिन्ताजनक रहेको र ६ जना सामान्य घाइते भएका अध्यक्ष खत्रीले जनाए । सिकिस्त घाइतेलाई हेलिकोप्टरमार्फत उद्धारको तयारी भइरहेको छ ।
सानीभेरी गाउँपालिका – ३ घ्युढुंगाबाट मुसीकोटतर्फ आउँदै गरेको जु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नमराज भट्टराई जानकारी दिए । उनले घटनास्थमा उद्धारको काम भइरहेकोले यसबारे विस्तृत विवरण आउँन बाँकी रहेको उनले जनाए ।
भिरबाट करिब ३–४ सय मिटर तल जिप खसेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने प्रहरीको भनाइ छ ।
Discussion about this post