भरतपुर,१० जेठ । भरतपुर–२२ का १५ घरधुरीलाई बाख्रा वितरण गरिएको छ । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषिकहरुलाई प्रोत्साहन गर्न एक परिवारलाई दुईवटाका दरले बाख्रा वितरण गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख दाहालले एक कार्यक्रमका बीच बाख्रा वितरण गरेकी हुन् ।
भरतपुर महानगरपालिकाका कृषि महाशाखा प्रमुख तेजेन्द्र पौडेलले कृषिको व्यवसायीकरणको क्रममा ठूला कृषकहरु समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बाख्रा वितरण कार्यक्रम ल्याइएको बताए । निर्वाहमुखी कृषक कार्यक्रममार्फत ९० जनाले २ वटाका दरले बाख्रा पाउने छन् । युवा लक्षित कार्यक्रममार्फत १७ जनाले २ लाखका दरले रकम प्राप्त गरेका छन् ।
९० क्विन्टल धानको बीउ वितरण :
यसैबीच भरतपुर महानगरपालिकाले अनुदानमा ९० क्विन्टल धानको बीउ वितरण गरेको छ । भरतपुर–२१ को समाज उत्थान कृषि सहकारीमा अयोजित कार्यक्रममा कृषकहरुलाई धानको बीउ वितरण गरिएको हो ।
महानगरपालिकाले प्रतिकिलो रु ३० का दरले अनुदान दिएको हो । भरतपुरमा रहेको ७२ वटा कृषि सहकारीमार्फत २ सय ३३ मेट्रिक टन बीउ साढे ९ हजार कृषकलाई वितरण गरिने भरतपुरका कृषि महाशाखा प्रमुख पौडेलले जानकारी दिए । उन्नत बीउले २० प्रतिशत उत्पादन वृद्धि गर्ने अनुसन्धानले देखाएको छ ।
दुई वटा बोरिङको उद्घाटन
यस्तै भरतपुर महानगरपालिका–२२ मा निर्माण भएको दुई वटा बोरिङको उद्घाटन गरेकि छिन् ।भरतपुर–२२ को सुख्खाग्रस्त क्षेत्र गर्भेटाँडी र पदमपोखरीमा निर्माण भएको बोरिङ उद्घाटन गर्दै प्रमुख दाहालले सिँचाइको अभावमा कुनै पनि खेत बाझो राख्न नपर्ने उल्लेख गरिन् । भरतपुरमा नौं हजार हेक्टरमा सिँचाइको व्यवस्था गर्ने लक्ष्य राखिएकोमा अहिलेसम्म २१ सय हेक्टरमा सिँचाइको व्यवस्था भइसकेको उनको भनाइ छ । एउटा डिप बोरिङले ३५ बिघा खेतलाई सिँचाई गर्न पुग्छ ।
Discussion about this post