काठमाडौं, ४ जेठ । इन्डियन प्रिमियर लिग (आइपिएल) मा यसअघिनै प्रतियोगिताको प्लेअफबाट बाहिरिसकेको दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई १५ रनले पराजित गरेको छ।
बुधबार राति धर्मशालामा खेलिएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा २ विकेट गुमाएर २ सय १३ रन तयार गरेको थियो। दिल्लीका लागि राइली रोसोउले विष्फोटक इनिङ खेलेका थिए। उनले ३७ बलमा ६ चौका र ६ छक्काको सहयोगमा ८२ रनको नटआउट इनिङ खेल्दा उनलाई फिल साल्टले २६ रन बनाएर साथ दिएका थिए। यस्तै कप्तान वार्नर ४६,पृथ्वी सा ५४ रन बनाएर आउट भए।पञ्जाबका बलर साम कुर्रनले २ विकेट लिए ।
जवाफी ब्याटिङमा ओर्लिएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ९८ रन मात्र जोड्न सफल भयो।उसका लागि लिम लिभिस्टङले ९४,अथर्व टाइडेले ५५,प्रभसिम्रनले २२ तथा साम कुरानले ११ रन बनाए। दिल्लीका लागि इशान्त शर्मा र अनरिच नोर्तेजले २-२ विकेट लिंदा खलिल अहमद र अक्षर पटेलका नाममा समान १-१ विकेट रह्यो।
जितपछि दिल्लीले १३ खेलमा १० अङ्क बनाउँदै पुछारबाट दोस्रो स्थानमा उक्लिएको छ। दिल्ली यसअघिनै प्लेअफ सम्भावनाबाट बाहिरिंदा पञ्जाबको भने दिल्लीसँगको हारसँगै प्लेअफको गणितीय सम्भावना मात्र बाँकी छ। अब उसले आफ्नो अन्तिम खेल जितेमा पनि १४ अङ्क मात्रै हुने छ। अन्य ४ टिमको फराकिलो हार र अन्तिम खेलमा फराकिलो रनरेट सहितको जितले मात्र पञ्जाब प्लेअफ पुग्ने सम्भावना बाँकी रहन्छ। अहिले १३ खेलबाट १२ अङ्कका साथ ८ औं स्थानमा रहेको छ।
Discussion about this post