चितवन,२५ वैशाख । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले मापदण्ड विपरितका संरचना भत्काइने काम छिटोभन्दा छिटो अघि बढाइने बताएकी छन् । भरतपुर भवन निर्माण व्यवसायी समितिको दशौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मेयर दाहालले भरतपुरलाई व्यवस्थित सहर निर्माण गर्ने उद्देश्यसहित मापदण्ड विपरितका अवैध संरचना हटाउने काम अब केही दिनमा सुरु हुने जानकारी दिइन् ।
प्रमुख दाहालले महानगरपालिकाले तीन महिना अगाडि सूचना प्रकाशित गरी मापदण्ड विपरितका घर, टहरा, कम्पाउण्ड लगायतका संरचना हटाउन आह्वान गरेकाले अब भने एक्सनमा जाने बताइन् । महानगरपालिकाले बनाएको मापदण्डअनुसार अगाडि बढ्नु जनप्रतिनिधिको दायित्व भएको स्पष्ट पारिन् । यसका लागि बैठक बसेर, निर्णय गरी कसैलाई पनि मार्का नपार्ने गरी काम अगाडि बढाइने पनि बताइन् ।
भरतपुर महानगरपालिकाले यसअघि पुलचोक गोन्द्राङ ६ लेन सडकमा पर्ने संरचना हटाउने कार्य सम्पन्न गरिसकेको छ । महानगरपालिकाले भरतपुरका अन्य मुख्य सडक क्षेत्रमा पर्ने संरचना हटाउन पत्रचार पनि गरेको छ ।
महानगरले ३५ दिनको समय सीमाभित्र मापदण्डको पालना नगरी निर्माण भएका भवन, संरचना, सीमा पर्खाल र अस्थायी टहराहरु नहटाए ‘स्थानीय सरकार सञ्चालन ऐन–२०७४’ बमोजिम महानगर आफैले हटाई लागेको खर्च सम्बन्धित व्यक्ति, संस्थाबाट असुल उपर गर्ने जनाएको छ । यस्तै महानगरपालिका क्षेत्रभित्र कुनै पनि भवन तथा संरचनाहरु प्रचलित मापदण्ड बमोजिम नक्सा पास स्वीकृति लिएर मात्र निर्माण गर्नुपर्ने व्यवस्था ‘स्थानीय सरकार संचालन ऐन–२०७४ ले गरेको छ ।
Discussion about this post