चितवन,२४ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनका व्यवसायी शंकर कँडेल आत्महत्या प्रकरणबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
अनुसन्धान प्रभावित नहोस् भनेर आफूले घच्घच्याइरहेको उनले बताएका छन्। आज फेसबुकमा उनले अनुसन्धानमा कमी हुन नदिन प्रहरी प्रशासनलाई निरन्तर खबरदारी गरिरहेको बताएका हुन्।
‘घटनामा राजनीतिको रंग नपोतियोस् भनेर सचेत छु। म सत्य, न्याय र पीडितको पक्षमा छु। प्रहरी प्रशासनलाई घटनाको अनुसन्धानमा कसैले प्रभावित नपारोस् भनेर घच्घच्याइरहेको छु,’ उनले लेखेका छन्, ‘आर्थिक समस्यासँग लडिरहेको चितवनमा बन्द-हड्ताल केही नहोस् भनेर संयमपूर्वक सबै घटनाक्रमलाई नजिकबाट नियालिरहेको छु।’ लामिछाने चितवनका सांसद हुन्।
भरतपुर महानगरपालिका-३ बेलचोकस्थित आफ्नो कार्यालयको कोठाभित्र वैशाख २० गते कँडेल झुण्डिएको अवस्थामा फेला परेका थिए। उनले अनमोल फिड्स उद्योग सञ्चालन गरिरहेका थिए।
कँडेल मृत्यु प्रकरणमा उनका परिवारले दुई जनाविरुद्ध आत्महत्या दुरुत्साहनको उजुरी दिएका छन्। उनीहरुको मानसिक यातनाका कारण कँडेलले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीमा किटानी जाहेरी दिएको हो।
Discussion about this post