चितवन,२३ वैशाख । नेपाली कांग्रेसका नेता तथा पोल्ट्री व्यवसायी शंकर कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने प्रदिप रुङ्गटा पक्राउ गर्न चितवन कांग्रेसले प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । चितवन कांग्रेसका पूर्व कोषाध्यक्ष र वर्तमान महासमिति सदस्य रहेका कँडेललाई आत्महत्या गर्न दुरुत्साहन गर्ने रुङ्गटालाई पक्राउ गर्न प्रधानमन्त्रीलाई उहाँकै निवास बालुवाटारमा भेटेर सभापति राजेश्वर खनालले आग्रह गरेका हुन् ।
आग्रह पछि प्रधानमन्त्री पुष्पकमल दाहालले सो विषयमा आफु गम्भिर रहेको बताउँदै फरार रहेका रुङ्गटालाई यथाशिघ्र पक्राउ गर्न प्रहरीलाई निर्देशन दिए । सभापति खनालसँगै निवर्तमान सभापति जितनारायण श्रेष्ठ, पूर्वमन्त्री मिलनबाबु श्रेष्ठ, शिवराम केसी लगायतका कांग्रेस नेता बालुवाटार पुगेका थिए ।
उनीहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि भेटवार्ता गरि रुङ्गटालाई यथाशिघ्र पक्राउ गर्न आग्रह गरेका थिए । कँडेलको न्यायको लागि भन्दै चितवनमा आज शनिबार दिनभरी चक्काजाम गरिएको थियो । तर, चितवन कांग्रेसले भने दिउँसो १ घण्टाका लागि मात्रै चक्का जाम गरिएको जनाएको छ । सो बाहेकका कार्यक्रम चितवन कांग्रेसको नरहेको सभापति खनालको दाबी छ ।
Discussion about this post