काठमाडौं,वैशाख २२ । आज एकै दिन बुद्ध जयन्ती,उभौली पर्व,गोरखनाथ जयन्ती,कूर्म जयन्ती अनि चण्डेश्वरी जात्रा परेको छ ।
बुद्ध जयन्ती
आदर्श पुरुष गौतम बुद्धको २५६७ औँ जन्मजयन्ती आज शुक्रबार मनाइदैछ ।बुद्धलाई पूर्ण रूपमा संसारिक मोहको पीडाबाट जागेका एक महान् व्यक्तित्व, गुरु, दार्शनिक, शिक्षक, पथ–प्रदर्शकका रुपमा लिइन्छ । उनले आफ्ना प्रवचनमार्फत संसारमा धर्म र नियमको पहिचान गर्दै मानिसलाई संसारिक मोह र तनावबाट ब्यूँझाउन सहयोग गरेको कथन पाइन्छ ।
बुद्धको जन्म ईशापूर्व ५४३ मा हालको नेपालको कपिलवस्तु जिल्लामा सालको रुखहरू रहेको बगैँचाको बीचमा भएको हो । शान्ति, सत्यता, अहिङ्सा अनि सरलताका लागि बुद्ध संसारका गुरु हुन् ।
बुद्धको वास्तविक नाम सिद्धार्थ गौतम हो । उनी जन्मना साथ उत्तरतर्फ ७ कदम हिँडेर औलालाई हावातर्फ देखाएको भन्ने किंवदन्ती छ । जन्मनासाथ उनलाई स्नान गराइएको पोखरीलाई सिद्धार्थ कुण्ड भनिन्छ ।
सिद्धार्थ गौतमले १६ वर्षको उमेरमा यशोधरासँग विवाह गरेका थिए । सम्पूर्ण जीव–जगत र प्राणीलाई अगाध स्नेह जनाउने बानी भएका यिनी सिद्धार्थ गौतम २९ वर्षको उमेरमा सम्पूर्ण सुखसयल छाडेर ज्ञानको खोजीमा निस्केका थिए । वर्षौपछिको यिनको तपस्याले निकालेको दर्शन र ज्ञान नै बुद्धत्व हो ।
बुद्ध धर्मलाई एक अनिश्वरवादी धर्म मात्र नभइकन एउटा अहिंसा, अधर्म अनि असत्यबाट मानवलाई जोगाउने एउटा दर्शनका रुपमा लिइन्छ । विश्वमा ३५ करोड बढी मानिसले बुद्ध धर्म मान्छन् । बुद्ध धर्म र उपदेश मान्ने अनुयायीहरू नेपालसहित चीन, भारत, श्रीलङ्का, बर्मा, थाइल्याण्ड, लाओस, क्याम्बोडिया, भियतनाम, भुटान, जापान, मङ्गोलिया, कोरिया लगायतका देशमा छन् ।
उँभौली पर्व
किराँत समुदायले प्रत्येक वर्ष मनाउने उँभौली पर्व पनि आज नै हो । यो पर्व प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन पर्छ । किराँत राई समुदायले देशभर भूमेस्थानमा पूजा आराधना गरेर उँभौली मनाउने गरेका छन् ।
बाली लगाउनुअघि गाउँगाउँमा रहेका भूमेस्थानमा राम्रोसँग काम होस् भनी प्रकृतिको पूजा आराधना गरिने परम्परा रहेको छ । गर्मी बढ्ने भएकाले यो समुदायका मानिस बेँसीबाट लेकतिर उँभो लाग्ने भएकाले पनि यसको नाम उँभौली रहेको हो ।
वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किराँत समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने भनाइ छ । मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् ।
यस पर्वका अवसरमा चण्डी नाच समेत नाचिन्छ । यसैकारण वैशाख शुक्ल पूर्णिमाको दिनलाई चण्डी पूर्णिमा पनि भनिन्छ । किराँत समुदायका पनि विभिन्न सम्प्रदायका बीच साकेला नाच पनि नाचिन्छ ।
गोरखनाथ जयन्ती
भगवान भोलेनाथ का अंश मानिने, नेपालका राष्ट्र गुरु गाेरखनाथ को उत्पत्ति पाकिस्तानको रावलपिन्डीमा बाह्रौं शताब्दी तिर भएको जनश्रुती पाइन्छ।
भाेले नाथ को जस्तै माता पिता थाहा नभएका गोरखनाथको उत्पत्ति भोलेनाथको इच्छ्या अनुरूप गुरू मछिन्द्रनाथको कृपा द्वारा गोबरमा भएको थियो त्यसैबाट गोरक्ष हुँदै गोरख काे नामले परिचित भएका मानिन्छन्।
नाथ सम्प्रदायका नवौं योगी मानिएका गोरखनाथ ,योग समाधिमा पुग्ने व्यवहारिक विधि वा मानसिक एकाग्रता र शारीरिक स्वस्थताका लागी एकै पटक प्रयोग गरिने हठ योगका विधिहरूकाे प्रतिपादक पनि थिए।
हाल बाबा रामदेवले सिकाइरहनु भएको योगको प्रथम आविष्कारक योगी गोरखनाथ नै हुन भनिन्छ।
कूर्म जयन्ती
विष्णुको कछुवा स्वरूपलाई कुर्म भनिन्छ । कुर्म जयन्ती बैशाख शुक्ल पूर्णिमामा पर्छ । क्षीर सागर मन्थनका दौरान यसै कुर्म अवतारले मद्राञ्चल पर्वतलाई आफ्नो ढाडमा उठाएर हिँडेको कथन छ । विष्णुको प्रथम अवतार मत्स्य हो भने दोश्रो चाहिँ कुर्म अवतार हो । माछाबाट क्रमशः जल अनि थल दुवैमा यथोचित रहन सक्ने कुर्म अवतारमा विष्णु भगवान पर्दापण भएको मानिन्छ ।
यो दिन व्रत बस्ने चलन छ । एक दिन अगावै जाग्राम बस्ने, विष्णु सहस्त्रानाम पढ्ने र अन्य वैदिक मन्त्रहरू पढ्ने चलन रहन्छ । यस दिन दानपुण्य गर्नाले धेरै फाइदा हुने विश्वास पनि गरिन्छ ।
कुर्म अवतारमा योगमायाको उपस्थिति रहने विश्वासका कारण आजको दिन निर्माणका कार्यहरू । कला अनि शिल्पका कार्यहरूको थालनी गरिनु बिशेष फलदायी मानिन्छ । यस जयन्तीको सबैमा शुभकामना ।
प्रकृतिका पुजारी यस समुदायले बैशाख पूर्णिमाका दिन अन्न बाली सप्रियोस् । राम्रो बाली लागोस् । पृथ्वीमा कहीँ कतै खाद्यन्नको कमी नहोस् भन्दै यस उभौली पर्व मनाउँछन् । चण्डी नाच गरिने भएकाले आज चण्डी पूर्णिमा पनि भनिन्छ । चण्डी पूर्णिमा भन्नाले सुम्निमा अर्थात पार्वतीको सृष्टि भएको दिन हो । त्यही भएर उभौलीका अवसरमा सांस्कृतिक महोत्सवका रूपमा यो पर्व मनाउने गरिन्छ ।
चण्डेश्वरी जात्रा
वैशाख शुक्ल पूर्णिमालाई चण्डी पूर्णिमा पनि भनिन्छ । वैशाख शुक्ल पूर्णिमाका दिन चण्डिका भगवती प्रकट भएर भगवतीले चण्डनाम दैत्यलाई बध गरेको कथन छ ।
यसैकारण उक्त भगवतीको नामाकरण नै चण्डी राखिएको हुनुपर्छ । अनि एवं रितले बैशाख शुक्ल पूर्णिमा चण्डी पूर्णिमाको नामबाट प्रसिद्ध भयो ।
चण्डेश्वरी पूर्णिमामा व्रत लिने चलन छ । यो पूर्णिमालाई पावन र अत्यन्त फलदायी तिथिका रूपमा लिइन्छ । देवी भगवतीको चण्डी स्वरूपको महिमालाई विशेष अर्चना गर्दै, शक्ति र समानताको अनुग्रहका साथ यस पूर्णिमाको व्रत लिइन्छ । उभौली पर्वमा आजका दिन यसै चण्डी स्परूपको देवीको अनुग्रहका लागि चण्डी नाच नाच्ने चलन छ । परम्परागत नेपाली संस्कृति तन्त्रमय छ ।
Post Views: 170
Discussion about this post