काठमाडौं,१८ वैशाख । एसीसी प्रिमियर कपको आज फाइनल खेल हुदैँछ ।कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचमा आज फाइनल खेल हुदैँछ । बिहान ९ बजेबाट खेल सुरु हुनेछ ।
आजको खेल जित्ने टोलीले एसीसी प्रिमियर कपको उपाधिसहित एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
कीर्तिपुर मैदानमा डेढ महिना अगाडि भएको विश्व कप लिग–२ को अन्तिम खेलमा नेपालले यूएईलाई हराउँदै विश्व कप ग्लोबल क्वालिफायरमा छनोट भएको थियो । पछिल्लो दुई महिनाको बीचमा नेपाल र यूएई ४ पटक आमने सामने भएका छन् । जसमा यूएईमा भएको एउटा खेल नेपालले हारेको थियो भने बाँकी ३ खेल जितेको थियो ।
यूएईसँगको एउटा खेल हारेयता नेपालले अरु खेल हारेको छैन । आजको खेलमा पानी परेमा भोलि हुनेछ । तर निरन्तर पानीले खेल हुन नसके सुपर ओभर हुनेछ । सुपर ओभर पनि बराबर भएमा अर्को सुपर ओभर हुनेछ । तर वर्षाको कारण सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आईसीसीको एकदिवसीय वरियता अनुसार माथि रहेको टोली एसिया कपमा पुग्नेछ ।
एकदिवसीय वरियतामा नेपाल १४ औँ र यूएई १९औँ स्थानमा छन् । खेल रद्द हुँदा नेपाल एसिया कपमा पुग्दै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ ।
Discussion about this post