काठमाडौं,१४ वैशाख । एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’को अन्तिम खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गर्दै समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाएको छ।
आज बिहीबार टियु मैदान कीर्तिपुरमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४०.३ ओभरमा अलआउट हुँदै १५७ रन बनायो । नेपालका लागी सन्दीप लामिछानेले ५८ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ४२ रन बनाए ।
यस्तै कप्तान रोहित पौडेलकले २७,आसिफ शेखले १९,दिपेन्द्र सिंह ऐरीले १२,आरिफ शेख र सोमपाल कामीले ११, भीम सार्कीले ६,कुशल मल्लले ३ तथा कुशल भुर्तेलले २ रन बनाए ।
नेपाललाई सस्तैमा समेट्न कतारका अमिर फारोकले चार विकेट लिए भने अवस अहमदले तीन विकेट लिएका थिए। त्यस्तै ज्ञान मुनवेराले दुई तथा इक्रमानुल्लाहले एक विकेट लिए।
जवाफि व्यटिङमा उत्रिएको कतार २५.१ ओभरमा ८९ रनमा समेटिएपछि नेपालले फराकिलो जित निकाल्यो। कतारका लागि जाहिर इब्राहिम र खुराम सहाजादले १५–१५ ,अमिर फारुकले १४ रन बनाउनु सर्वाधिक रह्यो । कतारविरुद्ध सन्दीप लामिछानेले ५ विकेट,सोमपाल कामीले ३ तथा ललित राजवंशीले २ विकेट लिए।
नेपाल प्रतियोगितामा अपराजित रहँदै सेमिफाइनल प्रवेश गरेको छ। नेपाल ४ खेलमा ३ जित र एक खेलमा अङ्क बाँड्दै ७ अङ्कका साथ अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको हो। कतार भने प्रतियोगितामा जितविहीन रहँदै बाहिरियो।
Discussion about this post