काठमाडौं,५ वैशाख । मुलुकभर सोमबार १ हजार १ सय ३४ ठाउँमा आगलागी भएको छ। आइतबार ६ सय १२ ठाउँमा यस्ता घटना भएकामा सोमबार दोब्बर पुगेको हो। यस्तै अवस्था लगातार तीन दिनसम्म रहे संकटकाल लगाउनुपर्ने हुन सक्ने जानकार बताउँछन्।
यसअघि आगलागीका यति धेरै घटना भएको तथ्यांक नरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सुन्दर शर्माले बताए। सबैभन्दा धेरै ८ देखि ९ सय डढेलोका घटना मात्रै रेकर्डमा थियो।
‘यो डरलाग्दो अवस्था हो। नेपालमा यति धेरै ठाउँमा कहिल्यै आगलागी भएको थिएन’, उपसचिव शर्माले भने, ‘भोलिसम्म पानी नपरे साँच्चै यसले विकराल रूप लिन सक्छ। संकटकाल नै लगाउनुपर्ने अवस्था आउन सक्छ।’ उनका अनुसार पिक सिजन अगावै आगलागी भएको हो। वैशाख १२ मा मात्रै पिक सिजन सुरु हुन्छ। पिक सिजन सरेर अगाडि आएको भए आगलागीका घटना छिट्टै घटेर जान सक्ने शर्माको भनाइ छ। भने, ‘तर अझै बढ्दै गए संकटकाल लगाउनुपर्ने हुन्छ। यस्तै अवस्था तीन दिन रहे साँच्चै केही गर्नै पर्छ।’
प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलका अनुसार वैशाख १२ लाई पिक सिजन मानिन्छ। सामान्यतः वैशाख दोस्रो साता आगलागीको सिजन सुरु हुन्छ। तर, चार साता पहिलादेखि नै हुन थालेको छ। जलवायु परिवर्तनका कारण तापक्रममा वृद्धिसँगै नेपालमा सिजनभन्दा पहिला नै आगलागी हुन थालेको ‘एम्प्लिफाइड ड्राउट ट्रेन्ड इन नेपाल इन्क्रिज द पोटेन्सियल फर हिमालयन वाइल्ड फायर’ नामक अध्ययनले देखाएको छ। डढेलोको घटना पहिलाभन्दा दशांै गुणा बढ्नेसमेत औंल्याइएको छ।
त्रिविको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले ताइवान, जर्मनी र अमेरिकी विश्वविद्यालयका अनुसन्धानकर्तासँग मिलेर गरेको अध्ययनले सन् २०२१ को डढेलोलाई सन् २००२ पछिको डरलाग्दो भनेको छ। प्राधिकरणको तथ्यांकअनुसार उक्त वर्ष ६ हजार ५ सय ३७ घटना भएका थिए।
अध्ययनका अनुसार पनि जलवायु परिवर्तन र मानवीय क्रियाकलापका कारण हरित गृह ग्यासको उत्सर्जन, औसतभन्दा कम वर्षा हुँदा तापक्रम सामान्यभन्दा तातो हुन्छ। त्यसको असर विनाशकारी डढेलोका रूपमा देखिएको हो। अहिलेसम्मको रेकर्ड हेर्दा सन् २००९, २०१६ र २०२१ डरलाग्दा डढेलो लागेका छन्। उक्त वर्षहरूमा औसतभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागको तथ्यांकले प्रष्ट्याउँछ। आजको अन्नपुर्णमा खबर छ ।
Discussion about this post