चितवन,१ वैशाख । चितवनमा आजदेखि प्याराग्लाइडिङको व्यावसायिक उडान पनि सुरु भएको छ । साहसिक खेल पर्यटनको रूपमा चिनिने प्याराग्लाइडिङ भरतपुर महानगरपालिका वडा नं. २९ को चौकी डाँडाबाट शुरु भएको हो ।
चितवनमा पहिलो पटक प्याराग्लाइडिङको व्यावसायिक उडान सुरु गरेको हिमालयन फन्टियर्स प्याराग्लाइडिङ कम्पनीका बोर्ड डाइरेक्टर शालिक दवाडीले नयाँ वर्षको पहिलो दिनको अवसर पारेर उडान सुरु गरिएको जानकारी दिनुभयो ।
“औपचारिक उद्घाटनपछि गर्नेछौँ, तर उडान भने सुरु भयो ।”, उहाँले भन्नुभयो चितवनको चौकी डाँडाबाट प्याराग्लाइडिङ उडेर तनहुँको देवघाट गाउँपालिका–५ मा रहेको त्रिशूली नदीको किनारमा अवतरण हुनेछ ।”
उडानका अवसरमा प्याराग्लाइडिङ उडानका लागि लाग्ने ८ हजार रुपैयाँमा २५ प्रतिशत छुट दिएर ६ हजार शुल्क लिइएको दवाडीले बताउनुभयो ।
हाल १० वटा प्याराग्लाइडिङ उडानका लागि ल्याइएका छन् । दैनिक ४५ जनासम्मलाई उडान गर्न सकिने गरी तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।
कम्पनीका अध्यक्ष विजय घलेले चितवनमा जङ्गल सफारी पर्यटनको साथसाथै साहसिक पर्यटनको अर्को उत्पादन र अनुभवको रुपमा रहेको प्याराग्लाइडिङ सेवा सुरु गरिएको बताउनुभयो । “नयाँ वर्षसँगै चितवनको पर्यटन व्यवसायमा एक थप नयाँ आयाम थपिएको छ”, अध्यक्ष घलेले भन्नुभयो, “जङ्गल सफारी मात्र छैन चितवनमा पर्यटकको लागि सबै थोक छ भन्ने सन्देश पनि गएको छ ।”
नारायणगढ–मुग्लिन सडकखण्डको भोर्लेबाट ९ किलोमिटर उत्तर र जुगेडीबाट ५ किलोमिटर उत्तर हिँडेपछि चौकी डाँडा पुग्न सकिन्छ । चौकी डाँडा १२ सय मिटरको उचाइमा छ ।
कम्पनीले चौकी डाँडासँगै भरतपुर–२९ कै कविलासबाट पनि प्याराग्लाइडिङको उडान अनुमति लिएको छ । कविलासको उचाई भने ५८० मिटरको छ ।
Discussion about this post