काठमाडौं,१ वैशाख । आज विक्रम सम्वत २०८० को पहिलो दिन अर्थात् नयाँ वर्ष २०८० साल सुरु भएको छ । नयाँ वर्ष प्रारम्भ भएको पहिलो दिन आज नेपालमा र विदेशमा रहेका नेपालीले हर्षोल्लासका साथ एक आपसमा शुभकामना आदानप्रदान गरी मनाइरहेका छन् ।
आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मीठोमीठो खाने, साथीसङ्गाती तथा इष्टमित्रसँग भेटघाट गरी एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।
नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिने परम्परा छ । राणा प्रधानमन्त्री चन्द्र शमशेरले वि स १९६१देखि वैशाख १ गतेलाई नयाँ वर्षको रुपमा मनाउने चलन सुरु गरेका थिए ।
आज पर्यटकीय क्षेत्रहरुमा विशेष चहल पहल छ । नयाँ वर्षको अवसरमा पिकनिक खान जाने, विभिन्न स्थानमा घुम्न जाने, साथीसंगी भेला भएर रमाइलो गर्ने र मन्दिरमा गएर पूजा गर्ने नेपालीहरुको प्रचलन छ ।
Discussion about this post