काठमाडौं,१८ चैत । भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर आएको छ । भारतीय आयल कर्पोरेशन आईओसीले नेपाल आयल निगमलाई पठाएको नयाँ मूल्य अनुसार पेट्रोल लिटरमा एक रुपैयाँ ७४ पैसा र डिजलमा ६ रुपैयाँ ८२ पैसा मूल्य घटेको हो । अब निगमलाई पेट्रोलमा प्रतिलिटर १० रुपैयाँ र डिजलमा २२ रुपैयाँ नाफा हुने देखिएको छ ।
निगमले अब पेट्रोल र डिजलबाट १५ दिनमै ८० करोड रुपैयाँभन्दा धेरै नाफा कमाउनेछ । अहिले पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ र डिजलको १ सय ७५ रुपैयाँ छ । भारतका धेरै पटक मूल्य घटेर आए पनि निगमले यसअघिको घाटा र ग्यासबाट हुँदै आएको घाटालाई पूर्ति गर्न भन्दै भाउ घटाएको छैन ।
यसैबिच पेट्रोलियम पदार्थको मूल्य कहिले घट्छ भन्ने प्रश्नमा निगमका प्रबन्ध निर्देशक उमेश थानीले भने, ‘सचिवज्यू चीन भ्रमणमा हुनुहुन्थ्यो । उहाँ आज राती मात्रै नेपाल आइपुग्नुहुन्छ । यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीसमेत भर्खरै आउनुभएको छ । यसबारे केही निर्णय भइसकेको छैन ।’
Discussion about this post