काठमाडौं,१६ चैत । नेपाली नयाँ वर्षलाई फरक ढंगबाट स्वागत गर्दै गत वर्ष वैशाख १ गते १५ हजार भन्दा बढीको उपस्थितमा काठमाडौंको टुँडिखेलमा एकसाथ ध्यान र उत्सव गरी ओशो तपोवनको सहकार्यमा ओम नेपाल मिडियाले सेलिब्रेशन शीर्षकको कार्यक्रम आयोजना गरेको थियो ।
गत वर्षको उक्त कार्यक्रमबाट प्राप्त उत्साह तथा सकारात्मक सन्देशसंगै यो वर्षको नयाँ वर्षको पहिलो दिन अर्थात वैशाख १ गते शुक्रवार सोही कार्यक्रमको दोस्रो संस्करण ‘ओशो महोत्सव’ काठमाडौंको टुँडिखेलमा आयोजना गर्न लागिएको छ ।
बुधवार ओशा तपोवनमा आयोजित पत्रकार सम्मेलनमा ओशो महोत्सव ओशो तपोवनको प्रस्तुतिमा आयोजना हुन लागेको जानकारी गराइएको छ । यसको आयोजना ओम नेपाल मिडियाले गर्नेछ ।
वैशाख १ गते बिहान ९ बजेदेखि राति ९ बजेसम्म १२ घण्टासम्म सञ्चालन हुने महोत्सवमा सबै वर्ग, उमेर, समुदाय, जातजाति, धर्म र संस्कृतिका व्यक्तिहरुलाई सुहाउने विविध प्रकारका कार्यक्रमहरु रहने बताइएको छ ।
‘यस पटक ओशो महोत्सव संगीतको महोत्सव हुनेछ, पत्रकार सम्मेलनमा जारी विज्ञप्तीमा भनिएको छ– ‘ओशो महोत्सव ध्यान र साधनाको महोत्सव हुनेछ । ओशो महोत्सव अध्ययनको महोत्सव हुनेछ । ओशो महोत्सव स्वाद र हाँस्यको महोत्सव हुनेछ । किनकी एक दिने ओशो महोत्सव ध्यान, मेडिटेशन, योगा, गायन, नृत्य, लाईभ म्युजिक, लाफिङ्ग मेडिटेशन, प्रत्यक्ष दोहोरी, पुस्तक प्रदर्शन, फुड फेस्टिभल, गजल वाचन र प्रहशनलगायतको संगालो समारोह हुनेछ ।’
ओशो महोत्सवको मुख्य कार्यक्रम साँझ ५ बजेदेखि प्रारम्भ हुनेछ । साँझ ५० हजार व्यक्तिले एकसाथ ध्यान र उत्सव गर्नेछन् । देशका विशिष्ट व्यक्तिहरुको उपस्थितिमा हुने यो सत्रमा बोधिसत्य स्वामी आनन्द अरुणबाट विशेष संत्सग र आशिर्वाद प्रदान हुनेछ । यही कार्यक्रममा अन्तरराष्ट्रियस्तरका नृत्य, संगीत र हाँस्य पनि प्रस्तुत हुनेछ ।
सांगीतिक समूह कुटुम्बले यही समयमा आफ्नो विशेष प्रस्तुति दिनेछ । यसपटक कुटुम्बले अहिलेसम्म नगरेको नयाँ प्रयोगहरु समेत गर्नेछ, जुन एेतिहासिक हुने दावी गरिएको छ ।
ओशो महोत्सवमा हुने फुड फेस्टिवलको संयोजन अन्तर्राष्ट्रिय ख्याति प्राप्त सेफ सन्तोष शाहले गर्नेछन् । उनका केही नयाँ परिकारहरुको स्वाद महोत्सवमा लिन सकिनेछ ।
शारीरिक तथा मानसिक तनाव, हताशा र विशादको कारणले दिननुदिन बिग्रँदै गएको हाम्रो स्वास्थ्यप्रति जागरुक रहन र नेपाली समाजलाई योग र साधनाका निरापद माध्यमबाट जोडी एक समृद्ध मनुष्य निर्माणमा यो महोत्सवले अहम् भूमिका खेल्न सक्ने बताइएको छ ।
आफ्नो व्यस्त जीवनशैलीमा ध्यान, योग र संत्सगलाई अपनाउँदै कसरी खुशी जीवन जिउन सकिन्छ भन्ने कला महोत्सवमा सिक्न पाईने छ ।
महोत्सवमा उच्च सरकारी पदाधिकारी, जनप्रतिनिधि, राजनीतिक दलका नेताहरु, विशिष्ट व्यक्तित्वहरु, दर्जनौ कलाकार, संचारकर्मी, स्वदेशी तथा विदेशी ओशो प्रेमी र दर्शकहरु सहभागी हुने आयोजकको भनाइ छ ।
ओशो महोत्सवको महोत्सव पार्टनरको रुपमा ग्लोबल टुरीजम प्रमोशन काउन्सिल रहेको छ । महोत्सवको मिडिया संयोजनको रुपमा चलचित्र पत्रकार संघ नेपालले ओशो तपोवनका प्रवक्ता निराजन भण्डारीले बताएका छन् ।
Discussion about this post