काठमाडौं,१६ चैत । आज श्रद्धा तथा भक्तिपूर्वक रामनवमी पर्व पूजा आराधना गरी मनाईदै छ ।
हरेक बर्षको चैत शुक्ल नवमीमा यो पर्व मनाउने परम्परा छ । मर्यादा पुरुषोत्तमका नामले चिनिने रामको जन्म भएको दिनको सम्झनामा राम मन्दिरमा पूजापाठ गरी यो पर्व मनाउने गरिन्छ ।
त्रेता युगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उहाँको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।
भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो । वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मनुभएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गर्नुभयो ।
असुर र अत्याचारी रावणमाथि विजय प्राप्त गरेका श्रीरामको सम्झनामा राम मन्दिरमा पूजापाठ गरिँदै छ । त्रेतायुगमा आजकै दिन अयोध्यामा श्रीरामको जन्म भएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका बिभिन्न पवित्र नदि, ताल तथा कुण्डमा स्नानका साथ ब्रत बसी रामगीता पाठ गर्ने चलन छ ।
राम नावमीमा ब्रत बसी पूजापाठ तथा जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने विश्वास छ ।
Discussion about this post