माडी,१३ चैत । धार्मिक तथा पौराणिक महत्वको गोद्धकधाम क्षेत्रमा रामायण कथा वाचन एवम् गोद्धक मेला सुरु भएको छ । मेलामा गुरु चैतन्यकृष्णले राम कथा वाचन गरेका छन् । यज्ञसँगै गोद्धक मेलामा हरेक दिन सांस्कृतिक कार्यक्रम, ठेलो फाल्ने प्रतियोगिता, भलिबल प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
मेला उद्घाटन गर्दे माडी नगरपालिकाकी नगरप्रमुख ताराकुमारी काजी महतोले धार्मिक, ऐतिहासिक, पौराणिक, पुरातात्विकलगायत विभिन्न पक्षको महत्व बोकेको यस क्षेत्रको विकासका लागि नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बताइन् ।मेलाको समुद्घाटन गर्नु अगाडि साँस्कृतिक झाँकी प्रदर्शन गरीएको थियो ।
गोद्धक क्षेत्र विकास संस्थाको आयोजनामा सञ्चालन भएको सो मेलाको मुख्य प्रवर्द्धकमा माडी नगरपालिका र प्रवर्द्धकहरुमा नगर पर्यटन विकास समिति एवं माडी १ र २ वडा कार्यालय रहेका छन् ।
मेलामा श्रद्धालु भक्तजनहरुका लागि भोजनगृह सञ्चालन, शिवमन्दिर, गोद्धकनाथ, भीम इनार, कुकुरनाथ, विरालोनाथ, झन्डी डाँडा, लिम्बू छाँगाजस्ता धार्मिक सम्पदा अवलोकन, परशुराम कुण्ड स्नानका साथै भलिबल, छेलो फाल्ने प्रतियोगिता र अन्य रमाइला खेलकूदजस्ता आकर्षण रहेका छन् ।
’संस्कार, संस्कृति र प्राकृतिक सम्पदाको बिकास, संरक्षण र संभारः पर्यटन बिकासको मुल आधार’ भन्ने नारासहित सञ्चालन सुरु भएको मेला चैत १८ गतेसम्म सञ्चालन हुनेछ ।
Discussion about this post