काठमाण्डाै,१३ चैत । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध लागेको बलात्कार आरोप सम्बन्धी मुद्दाको फैसलाका लागि सोमबार पेशी तोकिएको छ।
‘फास्ट ट्र्याक’बाट मुद्दा सकाउन सर्वोच्च अदालतको आदेशपछि जिल्ला अदालत काठमाडौंमा आजलाई अन्तिम सुनुवाइको पेसी तोकिएको छ ।
शुक्रबारमात्रै सन्दीपविरुद्ध मुद्दा दायर गरेकी जाहेरवालीले अन्तरिम राहत माग गर्दै दिएको निवेदनमा अदालतले हालै राहत दिनुनपर्ने गरी फैसला गरेको थियो । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले मुद्दा अन्तिमतिर आइसकेकाले मुद्दाको टुंगो लाग्दा नै राहत तथा क्षतिपूर्ति दिने निर्णय हुने भएकाले अन्तरिम राहत दिनुनपर्ने आदेश गरेको थियो ।
गत भदौमा सन्दीपविरुद्ध बलात्कारको जाहेरी परेको थियो।
त्यति बेला विदेशमा रहेका सन्दीप एक महिनापछि आफू फर्कने जानकारी दिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
कात्तिक १८ गते जिल्ला अदालतले थुनछेक बहसपछि पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सन्दीप उच्च अदालत पाटन पुगेका थिए । पुनरावेदन सुनुवाइमा उच्च अदालतले सन्दीपलाई विदेश जान नपाउनेसहित विभिन्न सर्त राखेर २० लाख धरौटीमा रिहा गरेको थियो ।
तर, सन्दीपले विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए । सर्वोच्चले विदेश जान नपाउने सर्तलाई बदर गर्दै धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशलाई सदर गरेको थियो ।
Discussion about this post