कसरा,१२ चैत । हरेक वर्ष चैतेदशैँमा मनाइने विक्रमबाबा मेला सुरु भएको छ । तर केहि दिन अघि विक्रमबाबा मेला भइरहेको कसरा क्षेत्रमा ध्रुवे हात्ती देखिएपछि सम्भावित दुर्घटनाबाट जोगाउन कसरामा पालिएका हात्तीलाई अहिले अस्थायी रुपमा अन्यत्र सारिएको छ ।
चितवन राष्ट्रिय निकुञ्जको कसरामा पालिएका हात्तीका कारण जंगली ध्रुवे हात्ती आकर्षित हुँदा नजिकै रहेको विक्रमबाबाको पूजाका लागि आउने भक्तजनमा त्रास बढेपछि पालुवा हात्तीलाई सारिएको हो ।
निकुञ्ज क्षेत्रभित्र जंगली जनावरबाट हुनसक्ने दुर्घटनाप्रति सचेत रही पूजा कार्यमा सरिक रहन र तोकिएको स्थानबाट मात्रै यात्रा गर्ने र पूजा सकिएलगत्तै निकुञ्जभित्रको समय अवधिलाई छोटो बनाउनेतर्फ ध्यान दिनुहुन सबैलाई सचेत गराएइको भरतपुर–२३ का वडा अध्यक्ष दीपक दवाडीले बताउनु भयो।
मेला सञ्चालन गर्न आउने व्यवसायीलाई पनि साँझ ६ बजेपछि व्यवसाय बन्द गर्न लगाइने घैलाघारी सामुदायिक वनका अध्यक्ष लिलाराज भुुसालले बताउनु भयो। मेला व्यवस्थापनका लागि एक सय एक सदस्यीय मूल व्यवस्थापन समिति गठन गरिएको उनले जानकारी दिनुभयो । पाँचवटा उपसमिति निर्माण गरी मेला व्यवस्थापनको काम गरिएको छ ।
चैत २३ गतेसम्म सञ्चालन हुने मेलाको गत मंगलबार भरतपुर महानगरपालिका वडा नम्बर २३ को कार्यालय, निकुञ्ज प्रशासन, निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना र पूजा व्यवस्थापन समितिले विक्रमबाबाको मन्दिरमा पूजाआजा गरी मेलाको सुरूवात गरिएको थियो ।
Discussion about this post