भरतपुर,८ चैत । भरतपुरमा निर्माणाधीन गौतमबुद्ध क्रिकेट रंगशालामा क्रिकेट खेलाएको भाडा नतिरेको आरोपको भरतपुर क्रिकेट क्लबले खण्डन गरेको छ ।
रंगशाला निर्माणमा खटिएको धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले हिजो मंगलबार सार्वजनिक गरेको भिडियोमा मेयर कप क्रिकेट सञ्चालन गरेको समयमा २ लाख १० हजार भुक्तानी लिन बाँकी रहेको बताएका थिए ।
तर उनले कुन संस्थाले तिर्न बाँकी हो त्यो भने खुलाएका छैनन् । सन् २०२१ मा रंगशाला निर्माणस्थलमा बनेको नमुना क्रिकेट ग्राउण्डमा भरतपुर क्रिकेट क्लबले ‘भरतपुर मेयर कप क्रिकेट’ आयोजना गरेको थियो ।
क्लबका तर्फबाट प्रतियोगिता निर्देशक पूर्व कप्तान राजु खड्काले मंगलबार जारी गरेको विज्ञप्तिमा प्रतियोगिताले मैदान प्रयोग गरेवापत कुनै पनि भुक्तानी दिन बाँकी नरहेको दाबी गरिएको छ ।
“भरतपुर महानगरको पत्र र फाउन्डेसनको सहमतिमा नमुना मैदानमा आयोजना गरिएको सो प्रतियोगिता बीचमा आएको कोभिडको दोस्रो लहरले मेयर रेनु दाहालको आग्रहमा स्थगित गरिएको हो”, विज्ञप्तिमा लेखिएको छ– “रंगशालाको क्यान्टिनमा सम्पूर्ण भुक्तानी रकम तिरेर खेलाडीले खाएको पानीको पैसासमेत तिरेर बन्द गरिएको प्रतियोगिताको कसरी २ लाख १० हजार तिर्नुपर्ने हो ?”
उनले तथ्यहीन आरोप नलगाउन चेतावनी दिँदै तिर्न बाँकी भएको तथ्य पुष्टि गर्न चुनौती पनि दिएका छन् ।
Discussion about this post