नवलपरासी,६ चैत । नवलपरासी गैंडाकोटको धार्मिक क्षेत्र मौलाकालिकामा वैशाख १ गतेबाट केवलकार सञ्चालनमा आउने भएको छ । मौलाकालिका केबलकार प्रालिका अध्यक्ष चन्द्र ढकालले दिएको जानकारी अनुसार २०८० वैशाख १ गतेबाट केवलकार सञ्चालनको तयारी गरिएको छ ।
ढकालका अनुसार गैंडाकोट–१ स्थित ऐतिहासिक महत्व बोकेको धार्मिकस्थल मौलाकालिका मन्दिरमा जान आउनका लागि केवलकार निर्माणको अन्तिम चरणमा छ । झण्डै एक अर्ब ५० करोड रूपैयाँको लागतमा होटलसहितको केवलकार बनिरहेको छ ।
अहिले टावरहरुको काम सकेर लठ्ठा तान्ने काम हुँदै गरेको अध्यक्ष ढकालले बताए । उनले केवलकारका गोन्डुला जडानको काम केहीदिनमा नै सुरु गरिने जानकारी दिए ।
‘वैशाख १ गतेदेखि केवलकार अप्रेशनमा ल्याउने योजनासहित काम भैरहेको छ’, अध्यक्ष ढकालले भने, ‘वैशाखमा केवलकार चढेर मौलाकालिका दर्शन गर्न पाइन्छ ।’
केबलकार सञ्चालनमा आएपछि प्रतिदिन छ हजार यात्रु आवतजावत गराउन सकिने कम्पनीको विश्वास छ । केवलकारका लागि स्थानीय धार्मिक र सामुदायिक वनको सानाठूला गरी सालका सहित एक हजार ३८ रूख काटिएको थियो ।
केबलकारले एकतर्फी लम्बाई एक हजार दुई सय मिटर लामो हुनेछ । छ टावर रहनेछन् भने १४ गोन्डोला हुनेछन् । १२ वटामा मानिस र २ वटामा सामान बोक्ने गोन्डोला हुनेछन् । एउटा गोन्डोला एक पटकमा आठ जना यात्रु अटाउने क्षमता छ । हरेक डब्बा एक स्टेशनबाट अर्को स्टेशन पुग्न पाँच मिनेट लाग्ने कम्पनीले जनाएको छ ।
Discussion about this post