चितवन,४ चैत । चितवनको नारायणगढस्थित बालकुमारी कलेज,भरतपुर स्थित वीरेन्द्र बहुमुखी क्याम्पस र भरतपुर-१० स्थित सप्तगण्डकी बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ । शुक्रबार ३ वटै क्याम्पसले प्रेस विज्ञप्ती जारी गरेर अर्को सूचना नआएसम्मका लागि निर्वाचन स्थगित गरिएको जनाएको छ ।
बालकुमारी कलेजमा कलेजको लेखा शाखा र प्रशासनमा तालाबन्दी भएका कारण चुनाव स्थगित गर्नुपरेको निर्वाचन अधिकृत डा.गुणराज क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार अर्को सूचना प्रकाशित नहुँदासम्म स्ववियु निर्वाचनका प्रकृयाहरु स्थगन गरिएको छ ।
यस्तै वीरेन्द्र बहुमुखी क्याम्पसमा पूर्व प्रकाशित कार्यतालिका बमोजिम चैत ५ गते हुने भनिएको निर्वाचन सम्पन्न गर्न सम्भव नदेखिएकाले तत्कालका लागि स्थगित गरिएको निर्वाचन अधिकृत टीकाराम रिजालले जानकारी दिनुभयो । स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरूबीच विवाद भएपछि निर्वाचन स्थगित गरिएको क्याम्पसले जनाएको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा बिहिबार विद्यार्थी संगठनले कलेजमा ताला लगाएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
उता सप्तगण्डकी बहुमुखी क्याम्पसमा पनि स्ववियु निर्वाचनलाई लिएर विद्यार्थी संगठनहरूबीच विवाद भएपछि निर्वाचन स्थगित गरिएको निर्वाचन अधिकृत खिमलाल दाहालले जानकारी दिनुभयो ।
क्याम्पसले निर्वाचनका लागि अनुकुल वातावरण सिर्जना गर्न गराउन सम्पूर्ण विद्यार्थी संघ संगठन र सरोकारवालाई अनुरोध गरेको छ ।
यता स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया स्थगित गरेकोमा नेपाल विद्यार्थी संघ चितवनले आपत्ति जनाएको छ । निर्वाचन स्थगित गरेकोमा गम्भिर ध्यानाकर्षण भएको भन्दै नेविसंघले निर्वाचनको बाँकी प्रक्रिया तत्काल अघि बढाउन आग्रह गरेको छ ।
विद्यार्थीको मताधिकार छिन्ने हेतुले क्याम्पस प्रशासनहरुद्वारा निर्वाचन स्थगित गरेको अलोकतान्त्रिक कार्यप्रति नेविसंघले निन्दा गरेको छ ।
Discussion about this post