काठमाडौं,फागुन २४ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपतिका दुवै उम्मेदवारबाट निष्पक्षताको परिकल्पना गर्न नसकेकाले राष्ट्रपति निर्वाचनमा मतदान नगर्ने निर्णयमा पुगेको बताएका छन्।
बैठकलगत्तै पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले दुवै उम्मेदवार सक्रिय राजनीतिमा रहेकाले उनीहरुबाट निष्पक्षताको परिकल्पना गर्न नसकेको बताए।
‘दुवै उम्मेदवारहरू सक्रिय राजनीतिमा हुनुहुन्छ, दुवै जना भर्खरै फरक फरक पार्टीबाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको छ।’ लिङ्देनले भने, ‘उहाँहरूबाट अभिभावकीय भूमिका र निष्पक्षता परिकल्पना गर्न सकेनौँ। त्यसैले हामी तटस्थ बस्नु उचित हुन्छ भन्ने निष्कर्षमा पुगेका छौँ।’
राष्ट्रपति निर्वाचनमा प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभा सदस्यले मतदान गर्ने व्यवस्था रहेको छ । राप्रपाका १४ जना प्रतिनिधिसभा सदस्य र २८ जना प्रदेश सभा सदस्य रहेका छन् ।
बिहीबार (भोलि) राष्ट्रपति निर्वाचन हुँदैछ । नेपाली कांग्रेसबाट रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङ राष्ट्रपति पदका लागि उम्मेदवार रहेका छन् ।
Discussion about this post